फिलिपिन्समा ८५ सैनिक सवार विमान दुर्घटना, १७ जनाको मृत्यु, ४० जनाको जीवितै उद्धार
काठमाडौं, असार २० । सैन्य फौज बोकेको एक हवाइजहाज दुर्घटनामा पर्दा आइतबार फिलिपिन्समा १७ जनाको मृत्य भएको छ । अन्तराष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार ९२ जना यात्रु बोकेको जहाज दक्षिणी फिलिपिन्समा दुर्घटनाग्रस्त भएको हो ।
अमेरिकी कम्पनी लकहिड मार्टिनद्धारा निर्मित सी-१३० नाम गरेको जहाज ल्यान्डिङका क्रममा दुर्घटनामा परेको हो । इस्लामिक सशस्त्र समूह सक्रिय रहेको सुलु राज्यको पाटिकुललाई दुघर्टनास्थान भएको बताइएको छ ।
उद्धारकार्य जारी रहेको र अहिले सम्म ४० जनाको उद्धार गरी उपचार भइरहेको फिलिपिन्स सैन्य फौजका प्रमुख सिरिलिटो सोबेजनाले अन्तराष्ट्रिय समाचार संस्थाहरूलाई जानकारी दिएका छन् । यद्यपि उद्धार कार्य जारी रहँदा मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
उता अमेरिकी अखबार न्यूयोर्क टाइमसले पनि मृत्य हुनेको संख्या १७ नै रहेको जनाएको छ । फिलिपिन्सका रक्षा मन्त्री डेलफिन लोरेनजनाका अनुसार ९२ यात्रु बोकेको जहाजमा तीन पाइलट सहित कुल आठ चालकदल सदस्य थिए ।
फिलिपिन्सको राज्य सञ्चालित समाचार संस्थाले प्रकाशन गरेको तस्बिरमा बस्ती नजिकै रूखहरूबीच जलेको विमान देखिन्छ।
प्रतिक्रिया दिनुहोस्