बाढी र पहिरोः २० दिनमा ३८ जनाको मृत्यु, ३१ बेपत्ता

काठमाडौं , असार २० । गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रले यस वर्षको बाढी तथा पहिरोमा परेर ३८ जनाको ज्यान गएको जनाएको छ ।

केन्द्रका प्रमुख दिल तामाङले यस बर्ष बाढी तथा पहिरोका कारण ३८ जनाले ज्यान गुमाएको र ३१ जना अझै हराइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार बाढी पहिरोमा परि ४७ जना घाइते भएका छन् । यो विवरण जेष्ठ ३१ गते देखि असार १९ गतेसम्म अर्थात् २० दिनको हो ।

शनिबार मात्रै गोरखामा २ र धादिङ्गमा २ गरेर ४ जना पहिरोका कारणले मृत्यु भएको छ । अहिलेसम्म २ सय २ वटा विपदको घटनाहरू रिपोर्टिङ्ग भएको तामाङले जानकारी दिए । ४ सय ९५ घरहरु पुर्ण क्षति भएका छन् । १ सय १२ घरहरु आंशिक क्षति भएका छन् । सामुदायिक भवन, विद्यालयहरुमा पनि क्षति पुगेको छ । ३ दर्जन सरकारी कार्यालयमा क्षति भएको छ ।

त्यसैगरी २३ वटा झोलुङ्गे पुल, १४ वटा पक्कि पुल,निर्माणाधिन र सञ्चालनमा रहेका सानाठूला गरी २५ वटा हाइड्रोमा पनि बाढीले क्षति पुराएको छ । यो वर्षको मनसुनजन्य क्षति सुरुवातमा नै निकै भयावह बनेर आएको र आफुहरू त्यसको प्रतिकार्यमा लागेको तामाङले बताए ।

मनसुन सुरु भए लगत्तै अवरुद्ध बनेका मनाङ्ग जाने बाटो , बाजुरा जाने बाटो र सिन्धुपाल्चोकको तातोपानी नाका जाने बाटो लामो समय देखि अवरुद्ध छ । साना साना पहिरो र बाढीका कारण अवरुद्ध भएका सडक तत्काल सञ्चालनका लागि पहल गरिएको र सञ्चालन भएको भए पनि केही स्थानको बाटोहरु लामो समय देखि अवरुद्ध रहेको प्रमुख तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस्