नागरिकले अहिले राणाकालीन बडाहाकिमको जस्तो शासन व्यहोर्नु परेको छ : राधेश्याम अधिकारी
काठमाडौं, असार १७ । नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले नागरिकले अहिले राणाकालीन बडाहाकिमको जस्तो शासन व्यहोर्नु परिरहेको बताएका छन् ।
आजबाट शुरु भएको राष्ट्रिय सभामा बोल्दै सासद अधिकारी प्रमुख जिल्ला अधिकारीमार्फत कहिलेसम्म शासन चल्छ भन्दै प्रश्न गरेका छन् ।
सांसद अधिकारीले राष्ट्रियसभामा राष्ट्रपति र प्रधानमन्त्रीको भूमिकाप्रति प्रश्न उठाएका हुन् । उनले सरकारले ४५ लाखभन्दा बढी खोप उपलब्ध गराउन नसकेको बताउँदै त्यो खोप २० लाख जनसंख्याका लागि मात्र ठीक भएको बताए । ७ दशमलव ५ प्रतिशतले जनताले मात्र खोप लगाउन पाएको भन्दै उनले १० लाख खोप मात्र खरिद गरेको उल्लेख गरे ।
कोरोनाविरुद्धको खोप ल्याउने भनेर जतिसुकै प्रचार गरे पनि सरकार असफल भएको उनले बताए । पहिलो पटक प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले एकमतले अस्वीकार गरेको अवस्थामा फेरि विघटन गरेर गल्ती गरेको उनको भनाइ रहको छ ।
राजनीतिक र संवैधानिक कुरा मिसियो भने त्यो अदालतले हेर्ने उनले बताए । विदेशमा कोरोनाको समयमा भएका निर्वाचनलाई देखाएर यहाँ पनि गर्न सकिन्छ भन्न नमिल्ने उनले बताए । कोभिडबारे सरकारको प्रक्षेपण के छ ?भन्दै उनले प्रश्न समेत गरेका छन् ।
साथै अधिकारीले सरकार उल्टो दिशामा हिँडेको आरोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस्