राष्ट्रिय फुटबल टीमको प्रशिक्षण एक साताका लागि स्थगित

काठमाडौं , असार १७ । साफ च्याम्पियनसिपको लागि आजबाट सुरु गर्ने भनिएको नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण एक साताको लागि स्थगित भएको छ ।

अखिल नेपाल फुटबल संघ 9एन्फा)ले प्राविधिक कारण देखाउँदै बन्द प्रशिक्षण एक साता पछि सरेको जनाएको हो । उपत्यका बाहिरबाट पनि खेलाडी आउनुपर्ने र निरन्तर वर्षाका कारण यातायात समस्या भएकाले प्रशिक्षण स्थगित भएको बुझिएको छ । अब प्रशिक्षण बुधबारबाट सुरु हुनेछ ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दुई साता अघि नै विश्वकप तथा एसियन कप छनोटको दोस्रो चरणमा बोलाइएका ३२ खेलाडीमा केही खेलाडी थप्दै नेपाली टोली घोषणा गरेका थिए । उनले खेलाडीलाई दुई समूहमा विभाजन गरेर प्रशिक्षण गर्ने बताएका थिए ।

साफ च्याम्पियनसिप १४ देखि २५ सेप्टेम्बरसम्म बंगलादेशमा हुने कार्यक्रम छ । प्रतियोगिताको अन्तिम मिति र खेल तालिका केहि दिनमा सार्वजनिक हुँदैछ ।

 

प्रतिक्रिया दिनुहोस्