तनहुँमा पहिरोले दुई जनाको मृत्यु, पक्की पुल बाढीले बगायो, मेलम्ची नदीमा फेरि बाढी, सतर्क रहन आग्रह
काठमाडौं , असार १७ । तनहुँमा लागातारको भारी वर्षापछि बाढीपहिरोले क्षति गरेको छ भने बन्दीपुर गाउँपालिका–३ तामुङमा पहिरोले दुई जनाको मृत्यु भएको छ । पहिरोमा एक गम्भीरसहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।
पहिरोबाट तामुङका करिब ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया बसेलको मृत्यु भएको हो । उनीहरूको घटनास्थलमै मृत्यु भएको वडासदस्य हर्कबहादुर थापाले जानकारी दिए ।
सरस्वतीका ससुरा दिलबहादुर मगर, सासू दाउरीमाया मगर र देवर सुवास थापा घाइते भएका छन् । पहिरोका कारण चार घर जोखिममा रहेको उनले जानकारी दिए ।
पहिरोमा पुरिएर घाइते भएकामध्ये एक जनाको अवस्था चिन्ताजनक रहेको उनले बताए । घर माथिबाट खसेको पहिरोले घर पुरेको गाउँपालिकाका उपप्रमुख करुणा गुरुङले बताए ।
रातभर परेको अविरल वर्षाले व्यास १ र १३ जोड्ने छाब्दी खोलाको पुल बगाएको छ । पुल बगेपछि बिहानैदेखि दुई वडाको सम्पर्क विच्छेद भएको छ । उता निरन्तरको वर्षाले मेलम्ची नदीमा बहाव बढेको छ ।
केही दिन अघिमात्र वितण्डा मच्चाएको मेलम्ची नदीमाले फेरि पनि स्थानीयवासीलाई त्रसित बनाएको छ ।बुधबार दिउँसोदेखि निरन्तर परेको पानीले हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती जोखिममा परेको भन्दै प्ररीले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार तटीय क्षेत्रहरुमा अझै बाढी आउनसक्ने भएकाले सुरक्षित स्थानमा गएर बस्न आग्रह गरिएको छ ।
यही असार १ गते र असार ५ गतेको बाढीले जोगाएको खोला किनारका घर तथा संरचना र खेतीयोग्य जमिनसमेत अहिलेको वर्षाले कटान गरिरहेको मेलम्ची–११ का दशरथ दनुवारले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्