माधव नेपालसहित ११ नेतामाथिको कारबाही फुकुवा, बादलसहितका नेता एमाले स्थायी कमिटीमा यथावत्

काठमाडौं, असार १६ । नेकपा एमालेको असन्तुष्ट पक्षको नेतृत्व गर्दै आएका नेता माधवकुमार नेपालसहितका ११ जनामाथि पार्टीले गरेको कारबाही स्वतः फुकुवा भएको छ।

महाधिवेशन आयोजक कमिटी भंग गरेर केन्द्रीय कमिटीमा रुपान्तरण भएपछि नेताहरुमाथि गरिएको कारबाही निष्प्रभावी भएको एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।

‘हामीले पार्टी एकता अघि बढाउन अब केन्द्रीय कमिटीमा नै रुपान्तरण गर्ने निर्णय गरेपछि त्यो कारबाही स्वतः निष्प्रभावी भयो,’ उनले भने, ‘अब सबैले पार्टी एकताको अभियानमा लाग्नुपर्छ।’

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठकले त्यसलाई भंग गर्दै केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको थियो। सर्वोच्च अदालतको पछिल्लो आदेश अनुसार सबै कारवाही निस्प्रभावी भएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए।

यसैबीच नेकपा एमालेले महाधिवेशन आयोजक कमिटी भंग गरेर केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेसँगै माओवादी केन्द्रबाट आएका नेताहरु पनि एमालेमै यथावत् रहने भएका छन्। एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले साविक स्थायी कमिटीमा नरहेका तर नेकपा कालमा रहेका नेताहरु स्थायी कमिटीमा रहने निर्णय गरिएको जानकारी दिए।

नेकपा एकता प्रक्रियामा एमालेबाट थपिएका रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्तसहित माओवादीतर्फ नलागी एमालेमा समाहित भएका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा स्थायी कमिटी सदस्य बनेका छन्।

यसअघि एमालेका पदाधिकारीहरू यथावत् रहने निर्णय भएको छ।

 

प्रतिक्रिया दिनुहोस्