सभामुख सापकोटा भन्छन् – प्रतिनिधिसभा पटक–पटकको विघटनले संसद र संसदीय शासन प्रणालीमाथि नै प्रहार
काठमाडौं , असार १६ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको पटकपटकको विघटनले संसद र संसदीय शासन प्रणालीमाथि नै प्रहारको आशंका उत्पन्न भएको औंल्याएका छन् ।संसद् दिवसका उपलक्ष्यमा दिएको शुभकामना सन्देश दिँदै सापकोटाले यस्तो औंल्यार्एका हुन् ।
उनले मौलिक ढंगले संसदीय परिपाटीको सञ्चालन गर्दै संसद्लाई जीवन्त र जनमुखी बनाई लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरण गरी लोकतन्त्रको लाभलाई जनस्तरसम्म पु¥याउनु आजको आवश्यकता रहेकोमा जोड दिए ।
सभामुख सापकोटाले संघ, प्रदेश र स्थानीय तहमा संसदीय अभ्यासलाई प्रभावकारी बनाउने दिशामा अघि बढ्दा मात्रै अनगिन्ती सङ्घर्ष र आन्दोलनका बलमा निर्मित संविधानअनुुरुप राज्य पुनर्संरचना र संघीय शासन प्रणालीको कार्यान्वयनमा बल पुग्ने विश्वास व्यक्त गरे ।
उनले लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि भएका सबैखाले संघर्षमा आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै यस क्रममा बेपत्ता, घाइते तथा अंगभंग हुनुभएका योद्धाप्रति उच्च सम्मान व्यक्त गरे ।
संसद् दिवस मनाउँदै रहँदा चौतर्फी संकट बेहोरिरहेको तथा कोभिड संकट जारी रहँदा यसबीचमा संघीय संसद्, प्रतिनिधिसभा दोस्रो पटक विघटन गरिएको जनाउँदै सभामुख सापकोटाले गहिरिँंदो राजनीतिक संकटका बीच मौसमजन्य विपत्तिको पनि सामना गरिएको बताए ।
सभामुख सापकोटाले भनेका छन् , ‘संसद् दिवसले संघीय संसद् सदस्य, संविधानसभाका सदस्य, पूर्वसांसद, राष्ट्रसेवक कर्मचारीलगायत सबैमा संवैधानिक सर्वोच्चता र लोकतन्त्रको रक्षाका लागि एकजुट हुन प्रेरणा मिल्ने छ ।
प्रतिक्रिया दिनुहोस्