एमाले महाधिवेशन आयोजक कमिटी भंग, केन्द्रीय कमिटीमा रुपान्तरण
काठमाडौं, असार १६ । नेकपा एमालेले पार्टीको दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको आयोजक कमिटीको अन्तिम बैठकले त्यसलाई भंग गर्दै केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।
बुधबार बसेको एमाले दशौं महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठकले एमालेलाई जेठ २ को संरचनामा फर्काएको औपचारिक घोषणा गरेको हो।
महाधिवेशन आयोजक कमिटी खारेजसँगै माधव नेपालसहित ११ जना नेतामाथि यसअघि गरिएको कारवाही समेत निष्क्रिय भएको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। अब केन्द्रीय कमिटीको बैठक असार १८ गते बस्नेछ।
यस्तै बैठकले कोरोना महामारी नियन्त्रणका लागि सरकारले गरेको कामको उच्च प्रशंसा गरेको पनि ज्ञवालीले बताए । त्यस्तै सबै नागरिकलाई खोप दिलाउन सरकारलाई अनुरोध पनि गरेको छ ।
बैठकले स्थायी कमिटीमा रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, रघुवीर महासेठ, रघु पन्त, विष्णु रिमाल र बेदुराम भुसाललाई मनोनीत गर्ने निर्णय पनि गरेको छ । त्यस्तै एमालेको बैठकले बाढी, पहिरोजस्ता विपदमा उद्दार र राहतमा सरकारले खेलेको भूमिकाको उच्च प्रशंसा गरेको ज्ञवालीले बताए ।
वरिष्ठ नेता झलनाथ खनालको उपचारको जिम्म पनि पार्टीले लिने निर्णय भएको प्रवक्ता ज्ञवालीको भनाइ छ । खनालको अहिले दिल्लीमा उपचार भइरहेको छ ।















प्रतिक्रिया दिनुहोस्