प्रतिनिधि सभा विघटनः सरकारी वकिलको बहस सकियो , प्रधानमन्त्री ओलीका निजी वकिलको बहस सुरु

काठमाडौँ , असार १६ । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सरकारी वकिलको बहस सकिएको छ । केही दिन यता सरकारी वकिलले बहस सुरु गरेका थिए । बुधबार सरकारी वकिलको बहस सकिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका निजी वकिलको बहस सुरु भएको हो ।

ओलीका निजी वकिल वरिष्ठ अधिवक्ता सुशिलकुमार पन्तले बहस सुरु गरेका छन् । संवैधानिक इजलासले संसद विघटन मुद्दामा पक्ष र विपक्षबाट बहस गर्न १५/ १५ घण्टा समय छुट्याइदिएको थियो । जसमध्ये रिट निवेदक पक्षले १२ घण्टा बहस गरिसकेका छन् भने ३ घण्टा प्रतिरक्षा बहसका लागि छुट्याइएको छ ।

संसद विघटनको निर्णयको प्रतिरक्षामा बहस गर्न पाएको १५ घण्टा समयमध्ये महान्यायाधिवक्तासहित सरकारी वकिलले ७ घण्टा र प्रधानमन्त्रीका वकिलले ७ घण्टा समय लिने गरी समय निर्धारण भएको थियो । एक घण्टा भने सभामुखका वकिलले पाउनेछन् ।

महान्यायाधिवक्ता कार्यालयका तर्फबाट बुधबार सहन्यायाधिवक्ताहरु गोपालप्रसाद रिजाल, सञ्जीवराज रेग्मी, लोकराज पराजुली र खेमराज ज्ञवालीले बहस गरे ।

प्रतिक्रिया दिनुहोस्