महाधिवेशन केन्द्रित छलफललाई तिब्र बनाउने निधि, कोइराला र सिंहको निष्कर्ष
काठमाडौं, असार १५ । नेपाली कांग्रेसका उपभापति विमलेन्द्र निधि, महामन्त्री डा/ शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले महाधिवेशन केन्द्रित छलफललाई थप तिब्र बनाउने भएका छन्।
मंगलबार सिंह निवास चाक्सीबारीमा भएको तीन नेताबीचको छलफलले पार्टीका सबै नेताहरुका बीचमा बहसलाई थप घनिभूत बनाउनुपर्ने निष्कर्ष निकालेको हो।
त्यसका लागि पार्टीका सबै केन्द्रीय सदस्य र १३ औं महाधिवेशनमा सभापतिका उम्मेदवारसँग छलफल गर्ने निधो तीन नेताले गरेका छन्। आफूहरुबीचको छलफलले देशभरका कार्यकर्तामाझ आकर्षण बढाएको र अन्य नेताहरुसँग पनि छलफल अघि बढाउनुपर्नेमा निष्कर्ष मंगलबारको छलफलले निकालेको सिंहले जानकारी दिए।
सिंहले आगामी शुक्रबार टोखास्थित कोइराला निवासमा पार्टीका सबै केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने र त्यो भन्दा अघि १३ औं महाधिवेशनका सभापतिका उम्मेदवारसँग छलफल गर्ने तय भएको जानकारी दिए। १३ औं महाधिवेशनमा सभापतिका उम्मेदवार रहेका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग निधि, कोइराला र सिंहले छलफल गर्ने भएका हुन्।
निधि, कोइराला र सिंह १४ औं महाधिवेशनमा सभापतिका आकांक्षी हुन्। उनीहरुबीच को उम्मेदवार हुने भन्ने ठूलो प्रश्न छ। तपाईहरु मध्ये सभापतिको उम्मेदवार को हुन्छ तरु भन्ने सञ्चारकर्मीको प्रश्नमा सिंहले भने, ‘हामी निरन्तर छलफलमा छौं। काँचो फल मिठो हुँदैन। पार्टी सभापतिको उम्मेदवार हुन सबैजनासँग छलफल गर्ने हो। धेरै भन्दा धेरैसँग छलफल गरेर टुंगो लगाउँछौं।’
तीन नेताबीच छलफल भएको यो तेस्रो पटक हो। यसअघि निधि निवास र कोइराला निवासमा समेत उनीहरुबीच छलफल भएको थियो। साथै मंगलबार नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको तीन नेताबीचको छलफलले शुक्रबार सबै कन्द्रीय सदस्यसँग छलफल गर्ने निर्णय गरेको नेता सिंहले जानकारी दिए।
नेता विमलेन्द्र निधिले सभापतिमा उम्मेद्वारी घोषणापछि डा। शशांक कोइराला र प्रकाशमान सिंहबीच नियमित छलफल हुन थालेको छ। आजको बैठकमा पनि महाधिवेशनको विषयमा छलफल भएको थियो।















प्रतिक्रिया दिनुहोस्