प्रतिनिधिसभाको अधिकार राष्ट्रपति कार्यालयबाट अपहरण भयो : सभामुख सापकोटा

काठमाडौं , असार १५ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अधिकार राष्ट्रपति कार्यालयबाट अपहरण भएको बताएका छन् ।

मंगलबार संघीय संसद भवनमा आयोजित अन्तर्क्रियामा उनले यस्तो बताएका हुन् । संविधानको आत्मामाथि प्रहार भएको बेला आफू चुप बस्न नसक्ने पनि उनले बताए ।

अध्यादेशबाट शासन गर्ने र अदालतको आदेश पालना नगर्ने कामले दुर्घटना निम्ताउने खतरा बढेको उनको भनाइ रहेको थियो । साथै उनले सम्पादकहरूसँगको छलफलका क्रममा अदालतका निर्णयको समेत उल्लंघन भइरहेको आरोप लगाए ।

‘अहिले संसदको अधिकार अपहरण भएको छ, राष्ट्रपति कार्यालयबाट अतिक्रमण भएको छ,’ उनले भने, ‘अदालतले गरेका निर्णयको उल्लंघन भएको छ ।’ उनले संसदको पटकपटक अवमूल्यन भएको बताए । संसदलाई जीवन्त राख्न आफूले प्रयत्न गरिरहेको उनको भनाइ थियो । उनले संविधानतः आफ्नो भूमिका तटस्थ रहनुपर्ने तर त्यो तटस्थता संविधानको रक्षार्थ तथा जनताको हितका सन्दर्भमा केन्द्रित रहने बताए ।

यसअघि नै अदालतको फैसलाअनुसार प्रतिनिधिसभा पुनर्स्थापना भएपछि आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग लामो छलफल गरेको पनि उनले जानकारी दिए ।

प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा दायर रिटमाथि बहस चलिरहेको चर्चा गर्दै उनले अदालतलाई पनि सही निष्कर्षमा पुग्नका लागि सहज हुनेगरी छलफल गर्नुपर्नेमा जोड दिए ।

उनले लोकतन्त्रको विकल्प लोकतन्त्रमात्र हुने भन्दै लोकतन्त्रको संरक्षणका लागि संविधानको रक्षा हुनुपर्नेमा जोड दिए । अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा परिवर्तन भइरहेको समयमै संसद विघटन भएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्