मास्क नलगाएको भन्दै उपप्रधानमन्त्रीलाई जरिवाना

काठमाडौं, असार १५ । मास्क नलागाएको भन्दै एक उपप्रधानमन्त्रीलाई जरिवाना गरिएको छ । यो खबर अस्ट्रेलियाको हो । लकडाउनको समयमा मास्क नलगाएको भन्दै अस्ट्रेलियाका नवनियुक्त उपप्रधानमन्त्री बर्नाबी जोसेलाई प्रहरीले जरिवाना गरेको छ ।

यता उपप्रधानमन्त्री जोसेले आफू विमानस्थल जान ढिला भएकोले श्रीमतीका लागि गाडीमा तेल हाल्न ओर्लेको र सर्भिस सेन्टरभित्र छिरेको ३० सेकेन्डमा आफू प्रहरी कार्बाहीमा परेको स्वीकार गरेका छन् ।

अस्टेलियामा कोरोना भाइरसको जोखिम बढ्न थालेपछि न्यु साउथ वेल्स, क्विन्स्ल्याण्ड, पश्चिम अस्ट्रेलिया र नथर्न टेरिटोरीमा प्रतिबन्धहरु लगाइएको छ ।

छ महिनापछि अस्ट्रेलियामा फेरि नयाँ संक्रमणहरु बढ्न थालेपछि यहाँका राज्य तथा केन्द्र सरकार निकै सतर्क बनेका छन् र कतै लकडाउन त कतै यात्रा प्रतिबन्ध लगाइको छ ।मास्क सबै सार्वजनिक स्थानहरु तथा यातायातमा अनिवार्य गरिएको छ । सिङ्गो सिड्नी शहर र वरपरको बस्तीका करीब ५० लाख अस्ट्रेलियालीलाई अहिले सरकारले ‘घरै बस्ने’ आदेश जारी गरेको छ ।

प्रहरीले गत शनिबार साँझ ६ बजे यता लकडाउन उल्लंघन गर्ने दर्जनौलाई जरिवाना तोकेको छ । अस्ट्रेलियामा लगाइएका प्रतिबन्ध र नागरिकहरुले पालना गर्नुपर्ने पछिल्ला नियमहरु यो लिङ्कमा गएर हेर्न सकिने छ ।

यसैबीच पछिल्लो २४ घन्टामा अस्ट्रेलियामा २९ जनामा नयाँ संक्रमण देखिएको छ जसमा २३ स्थानीय र ४ विदेशबाट आएर क्वारेन्टिनमा बसेकाहरुमा देखिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्