असार १८ बाट सबै यातायात चलाउने यातायात व्यवसायी र मजदूर संगठनको चेतावनी

काठमाडौं , असार १४ । यातायात व्यवसायी र मजदुर संघ–संगठनका प्रतिनिधिहरुले असार १५ गतेबाट सार्वजनिक सवारी साधन सञ्चालन गर्ने सरकारको निर्णय सच्याउन आग्रह गरेका छन् ।

उनीहरुले देशैभर सबै किसिमका सवारी साधन चलाउने व्यवस्था गर्न मागको सुनुवाई नगरे आफुहरुले आगामी असार १८ गतेबाट देशभरका सम्पूर्ण सार्वजनिक सवारी साधनहरु चलाउने घोषणा समेत गरेका छन् ।

नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदूर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संयुक्त विज्ञप्ति निकालेर यस्तो चेतावनी दिएका छन् । यता काठमाडौं उपत्यकामा २५ भन्दा बढी सिट भएका सवारी साधनलाई जोर बिजोर प्रणालीमा सञ्चालन गर्न दिने निर्णय भएको छ । काठमाडौं उपत्यकामा कोरोना संक्रमण रोक्न लगाइएको निषेधाज्ञा अझै खुकुलो पारिएको छ ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा खुकुलो पार्दै सार्वजनिक यातायात जोरविजोरमा चलाउने निर्णय गरेको हो ।

यसअनुसार मंगलबार अर्थात् भोलिदेखि २५ भन्दा धेरै सिटयुक्त सार्वजनिक यातायातका साधन जोर विजोरमा चल्न पाउने काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्