संसद विघटनको मुद्दा : रिट निवेदक पक्षका ३६ अधिवक्ताले गरे बहस
काठमाडौँ, असार १३ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आइतबार रिट निवेदक पक्षका वकिलहरूको बहस सकिएको छ ।
संसद पुनर्स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिनु पर्ने माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदन पक्षका वकिलहरूले आज बहस सकाएका हुन् ।
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा शेरबहादुर देउवासहित १४६ सांसद रहेको रिट निवेदकका तर्फबाट ३६ कानुन व्यवसायीले बहस गरेका छन् । इजलासले रिट निवेदक पक्षलाई बहसका लागि १२ घण्टा समय दिएको थियो । उक्त समयभित्र ३६ जनाले बहस गरेका हुन् ।
पहिलो दिन बुधबार ५, बिहीबार ९ र शुक्रबार ६ जनाले बहस गरेका थिए । अन्तिम दिन आइतबार १६ जनाले बहस गरेका हुन् । अब रिटका विपक्षी अथवा राष्ट्रपति, प्रधानमन्त्री र सभामुखका कानुन व्यवसायीको बहसपछि ३ घण्टा जवाफी बहस गर्ने छन् । विपक्षीलाई १५ घण्टा समय दिइएको छ । पक्ष र विपक्षको बहसपछि इजलासका सहयोगी एमिकस क्युरीका चार वरिष्ठ अधिवक्ताले २ घण्टा बहस गरेसँगै मुद्दाको फैसला आउने छ ।
गत जेठ ८ गते संसद विघटन गरेपछि त्यसविरुद्ध ३० वटा रिट परेका भए पनि पहिले मूल निवेदक १४६ सांसदको रिटमा सुनुवाइ भएको हो । अन्य रिट बारे त्यसपछि मात्रै निर्णय हुनेछ । मुद्दाको सुनवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, इश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराईको इजलास गठन गरिएको थियो । आइतबार बहस गर्दै वरिष्ठ अधिवक्ता सविता भण्डारीले शेरबहादुर देउवाले विश्वासको मत पाउन सक्ने पर्याप्त आधार भए पनि राष्ट्रपतिले रोकेको बताइन् ।
त्यो अधिकार संविधानले राष्ट्रपतिलाई नदिएको भण्डारीको भनाई छ ।अब सोमबार महान्यायाधिवक्तासहित महान्यायाधिवक्ता कार्यालयका वकिलहरुले बहस शुरु गर्ने छन् ।
प्रतिक्रिया दिनुहोस्