युरोकप फुटबलमा आज पनि दुई खेल हुँदै

काठमाडौँ, असार १३ । युरोकप फुटबलमा आज पनि दुई खेल हुने भएका छन् ।

नकआउट चरण अन्तर्गत आज हुने पहिलो खेलमा नेदरल्यान्ड्स र चेक रिपब्लिक भिड्छन् । आजै दोस्रो खेलमा बेल्जियम र पोर्चुगल पनि खेल्नेछन् ।

नेदरल्यान्ड्स र चेक रिपब्लिकबीच खेल राति ९:४५ बजे हुनेछ भने बेल्जियम र पोर्चुगलको खेल राति १२ ; ४५ मा हुनेछ ।

नेदरल्यान्ड्सले समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा स्थान बनाएको छ । समूह चरणमा शतप्रतिशत जित निकालेको नेदरल्यान्ड्सले ३ खेलमा ९ अंक जोडेको थियो ।

चेक रिपब्लिकले भने समूह ‘डी’ बाट नकआउट चरणमा स्थान बनाएको हो । समूह चरणमा तेस्रो स्थानमा रहेको चेक रिपब्लिकले उत्कृष्ट तेस्रो हुँदै अन्तिम १६ मा स्थन बनाएको हो । चेक रिपब्लिकले ३ खेलमा ४ अंक जोडेको थियो ।

दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्न चाहन्छन् । यस खेलको विजेताले क्वाटरफाइनलमा डेनमार्कसँग खेल्नेछ ।

स्पेनको सेभियामा बेल्जियम र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ । दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् । यस खेलको विजेताले क्वाटरफाइनलमा इटालीसँग खेल्नेछ ।

बेल्जियम समूह ‘बी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियमले ३ खेलमा ९ अंक जोडेको थियो ।

पोर्चुगल भने ग्रुप अफ डेथ मानिएको समूह ‘एफ’ बाट नकआउट चरणमा पुगेको हो । साविक विजेता समेत रहेको पोर्चुगलले समूह चरणमा ३ खेलमा ४ अंक जोडेको थियो ।

पोर्चुगल समूहको तेस्रो स्थानमा रहेको थियो । तर, पोर्चुगल समूहको उत्कृष्ट तेस्रो टिम बन्दै नकआउट चरणमा पुगेको हो ।

बेल्जियम र पोर्चुगलबीच ठुला प्रतियोगितामा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो ।

 

प्रतिक्रिया दिनुहोस्