पुनर्निर्माणमा खटिएका प्राविधिक सामूहिक राजीनामा दिएर आन्दोलनमा , प्रदर्शनकारी माइतीघरबाट पक्राउ
काठमाडौं, असार ११ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत प्राविधिकहरू राजीनामा दिएर आन्दोलनमा उत्रिएका छन् ।
भूकम्पपश्चात् विभिन्न जिल्लामा पुनर्निर्माणमा खटिएका उनीहरूले राष्ट्रिय पुनर्निर्माण प्रधिकरणस् प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिको आव्हानमा सामूहिक राजीनामा दिएर आज माइतीघरमा प्रदर्शन गरेका छन् ।
केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।आफूहरुलाई सेवाबाट हटाउन लागिएको भन्दै प्रदर्शनमा उत्रिएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिक कर्मचारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शुक्रबार दिउँसो उनीहरुलाई माइतीघर मण्डलाबाट नियन्त्रणमा लिएको हो ।बबरमहलबाट प्रदर्शन गर्दै उनीहरु माइतीघर मण्डला आइपुगेका थिए । माइतीघर मण्डलामा आइपुगेलगत्तै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर भ्यानमा राखेको थियो ।
असारपछि कामबाट निकाल्न लागेको भन्दै भूकम्पले भत्किएका विद्यालय पुनर्निर्माणमा खटिएका इन्जिनियर र सब–इन्जिनियरहरु ‘राष्ट्रिय पुनर्निर्माण प्रधिकरणः प्राविधिक राष्ट्रिय हकहित संरक्षण समिति’को नामबाट आन्दोलनमा उत्रिएका छन् ।इञ्जिनियर,ओभरसियर र सबओभरसियरलगायतका ३२ जिल्लाका प्राविधिकले सामूहिक राजीनामा दिएका हुन् ।
असार मसान्तदेखि करार अवधि सकिने ती प्राविधिकहरूले आगामी आर्थिक वर्षदेखि करार नवीकरण नगर्ने सरकारको तयारी रहेको र आफूहरूले विगतदेखि राखेका माग पूरा नगरिएको भन्दै आन्दोलन थालेका हुन् ।
शिक्षा मन्त्रालयमा २०३६ सालदेखि कार्यरत ३२० इन्जिनियरलाई २०७६ देखि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत विद्यालय पुनर्निर्माणमा खटाइएको थियो । असारपछि भूकम्प प्रभावित ३१ जिल्लाका लागि ११० इन्जिनियर र सब–इन्जिनियर राखी अरूलाई बिदा गर्ने निर्णय गरेपछि कर्मचारीहरु रुष्ट छन् ।
दुर्गम भत्ता, सञ्चार, यातायातलगायतको भत्ता कटौती भएको उनीहरूको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस्