प्रतिनिधि सभा विघटन : दोस्रो दिनको सुनुवाइमा ८ वरिष्ठ अधिवक्ताले गरे बहस
काठमाडौं, असार १० । प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी बहस बिहीबारका लागि सकिएको छ। संवैधानिक इजलासमा जारी सुनुवाइको दोस्रो दिन बिहीवार ८ जना वरिष्ठ अधिवक्ताले बहस गरेका छन् ।
वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहितले नेपालको संविधानको धारा ७६(५) अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्ति र प्रतिनिधिसभा पुनःस्थापनाको आदेश दिन माग गरेका छन् ।
बिहीवार वरिष्ठ अधिवक्ताहरू रमण श्रेष्ठ, हरिहर दाहाल, निखिलेशकुमार सिंह, हरि उप्रेति, शेरबहादुर केसी, बोर्णबहादुर कार्की, गान्धी पण्डित र खगेन्द्र अधिकारीले बहस गरेका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खडका, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहेका छन् ।रिट निवेदक र सरकारी पक्षलाई अदाललते १५/१५ घण्टाको समय निर्धारण गरेको छ।
जारी सुनुवाईमा रिट निवेदकको तर्फबाट शुक्रबार अब २९ जना कानुन व्यवसायीहरुले बहस गर्ने भएका छन् । रिट निवेदक पक्षलाई सुरुवाती बहसका लागि १२ घण्टाको समय तोकिएको छ ।
हरेक दिन ४ घण्टामात्रै बहस गराउने इजलासको आदेश अनुसार निवेदक तर्फका २९ कानुन व्यवसायी हरुलाई शुक्रबार ३ देखि ३० मिनेटसम्मको समय तोकिएको छ । रिटको पक्षमा बहस गर्न वकालतनामा बुझाएका कानुन व्यवसायीहरुको छलफलबाटै २९ जना कानुन व्यवसायीलाई बहसको समय तोकिएको हो ।
रिट निवेदक पक्षले सुरुवाती बहस गर्ने शुक्रबार अन्तिम दिन हो । शुक्रबार वरिष्ठ अधिवक्ताद्वय कृष्णप्रसाद भण्डारी र सतिकृष्ण खरेलले सबैभन्दा बढी ३०-३० मिनेट बहस गर्नेछन् । त्यस्तै पूर्व महान्यायाधिवक्ता मुक्तिनारायण प्रधानले २५ मिनेट बहस गर्नेछन् ।
वरिष्ठ अधिवक्ता बाबुराम कुँवर र अधिवक्ता डा। भीमार्जुन आचार्यले २०-२० मिनेट बहस गर्नेछन् । अधिवक्ता टिकाराम भट्टराईलाई बहसका लागि १५ मिनेट समय छुट्याइएको छ ।
अन्य कानुन व्यवसायीहरुलाई न्यूतम ३ देखि १० मिनेटसम्मको समय तोकिएको छ । इजलासले बहस व्यवस्थापनका लागि जारी गरेको आदेश अनुसार रिट निवेदक पक्षको सरुवती बहस शुक्रबार सकिनेछ ।
आइतबार देखि रिट निवेदनको विपक्ष अर्थात सरकारी पक्षको बहस सुरु हुनेछ । सरकारी पक्षलाई बहसका लागि १५ घण्टा समय दिइएको छ । रिट निवेदक पक्षले जवाफी बहसका लागि छुट्टै ३ घण्टाको समय पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्