रौतहटको मौलापुरको नगरसभामा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार, चार जना घाइते
काठमाडौं, असार १० । रौतहटको मौलापुर नगरपालिकाको नगरसभामा झडप भएको छ ।
बिहीबार नगरसभालाई बिथोल्न विपक्षी समूहले ढुंगामुढा गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको हो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन सेल अश्रुग्यास समेत प्रहार गरेको छ । झडपका क्रममा दुई प्रहरीसहित चार जना घाइते भएको प्रहरीले जनाएको छ ।
मौलापुरको नगरसभामा नेकपा एमालेका नेता प्रभु साह प्रमुख अतिथि रुपमा थिए । पूर्वमन्त्रीसमेत रहेका साह नेकपा माओवादी केन्द्र छाडेर केही समयअघि मात्रै एमाले प्रवेश गरेका हुन् ।
यता ललितपुर महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न बोलाइएको नगरसभा बैठक बहुमत सदस्यले बहिस्कार गरेका छन् । बिहीबार विहान ११ बजेका लागि बोलाइएको नगरसभा बैठक नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका दलका जनप्रतिनिधिले बहिस्कार गरेका हुन् ।
ललितपुर महानगरपालिका–३ का वडाध्यक्ष श्रीगोपाल महर्जनले बुधबार नीति तथा कार्यक्रममाथि छलफल गर्न नदिएकाले आफूहरुले बजेट बहिस्कार गरेको बताए ।
प्रतिक्रिया दिनुहोस्