सन्तोषी सुब्बाको हत्या आरोपी सार्वजनिक, अभियुक्तको बयान– पाँच हजार दिएँ, यौन सम्पर्क राख्न नदिएपछि हत्या गरेँ
काठमाडौँ, असार १० । दक्षिणकालीस्थित शौचालयमा मृत फेला परेकी सन्तोषी सुब्बाको हत्या आरोपमा पक्राउ परेका सुरेश तिमल्सिनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
महानगरीय अपराध महाशाखाले आज पत्रकार सम्मेलन गरी सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी १४ घर भइ दक्षिणकाली नगरपालिका ७ बस्ने २९ वर्षीय सुरेश तिमल्सिनालाई सार्वजनिक गरेको हो ।
महाशाखा प्रमुख एसएसपी चन्द्रकुबेर खापुङका अनुसार प्रहरीले हत्या आरोपी तिमल्सिनालाई काठमाडौँको असनबाट पक्राउ गरेको हो ।
एसएसपी खापुङका अनुसार असार ६ गते दक्षिणकाली पुगेकी सन्तोषीलाई तिमल्सिनाले खाना र सुत्ने व्यवस्था मिलाइदिन्छु भन्दै दक्षिणकाली मन्निर नजिकै जंगलमा पुर्याएका थिए ।
घटनास्थलमा उनले जरबरजस्ती गर्ने क्रममा सन्तोषीले प्रतिकार गरेपछि सुरेशले घाँटी थिचि मृतकको सलले घाँटीमा बेरी हत्या गरेको खुलेको एसएसपी खापुङले बताए ।
हत्या पश्चात अभियुक्तले अनुहारमा पटक पटक ढुंगाले प्रहार गरी फरार भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । अपराध महाशाखाका एक अधिकारीले भने, “उनी होटेलमा बसेको खुलेको छ । त्यहीँ बसेर चियाँ खाने क्रममा उनको ६ गते सुरेशसँग भेट भएको देखिन्छ ।”
सुरेशले सन्तोषीलाई आफ्नो ‘बसमै सुतौँ’ भनेर प्रस्ताव गरेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ । एक प्रहरी अधिकारीले सुरेशको भनाइ उद्धृत गर्दै भने, “मैले सन्तोषीलाई पाँच हजार दिएँ । सम्बन्ध राख्नकै लागि शौचालयतर्फ लगेर गएँ । तर, नमानेपछि हत्या गरेँ ।”
उनले बलात्कार भने नगरेको दाबी गरेको ती प्रहरी अधिकारीले बताए ।सन्तोषी काठमाडौंको कालोपुलमा धनबहादुर तामाङकी धर्मछोरी बनेर बस्दै आएकी थिइन् । उनी धनबहादुरसँग १७ वर्षदेखि बस्दै आएको देखिएको छ ।
प्रहरीका अनुसार उनी तीन दिनदेखि सम्पर्कमा थिइनन् । उनले धनबहादुरलाई आफू ‘गंगटो’ खोज्न जान्छु भन्दै निस्किएकी थिइन् । घटनाको महानगरीय अपराध महाशाखा र परिसर काठमाडौंले अनुसन्धान गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्