उपत्यकामा आजबाट निषेधाज्ञा केही खुकुलो , यी हुन् आज खुला हुने पसल

काठमाडौँ, असार ८ । कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा आजदेखि थप खुकुलो भएको छ ।काठमाडौं उपत्यकाका तीन जिल्लामा आजबाट निषेधाज्ञा कही खुकुलो भएको हो । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आजबाट काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो ।

आजबाट निजी सवारी साधन जोर बिजोर प्रणालीअनुसार चलाउन पाइनेछ । आजदेखि निजी सवारी साधन जोर बिजोर प्रणालीमा चलाउन पाइने भएपछि सडकमा सवारी चाप पनि बढेको छ । बार अनुसार पसल समेत सञ्चालन गर्न दिइएपछि बजार पसल खुला भएका छन् ।

आजदेखि खाद्यान्न, फलफूल र तरकारी पसल हरेक दिन ११ बजेसम्म खोल्न दिइने छ । त्यस्तै विकास निर्माण र सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धी सवै सरकारी कार्यालयहरुले स्वास्थ्य मापदण्डहरुको पालना हुनेगरी आलो पालो प्रणाली कायम गरि न्युनतम जनशक्ति मात्र प्रयोग गरि सेवा प्रवाह सुचारु गर्न पाउने व्यवस्था गरिएको छ ।

त्यस्तै अनलाईन डेलिभरी, टेक अवे र सवारी साधान मर्मत वर्कशप साझ ७ बजेसम्म सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ । खाद्यान्न, दूध, किताब पसललगायतका पसलहरू बिहान ११ बजेसम्ममात्र खोल्न दिइनेछ । यस्तै निर्माण सामग्रीका पसलहरू बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न पाइनेछ ।

काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीका अनुसार आज मंगलबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान बिक्री गर्ने पसल सञ्चालन तथा अटोमोबाइल र त्यसका पार्टपूर्जा पाइने पसल पनि खुल्नेछ । यी पसलहरू आइतबार र बिहीबार पनि खुला गर्न दिइएको छ ।

सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल खोल्न दिने निर्णय भएको छ । यस्तै फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ खुल्नेछन् ।

बारका आधारमा खुल्ने पसल बिहान ११ देखि ४ बजेसम्म खोल्न दिने निर्णय भएको प्रजिअ पराजुलीले बताए । खाद्यान्न, फलफूल र तरकारी पसल चाहिं हरेक दिन ११ बजेसम्म खुल्नेछ । यता आजदेखि पठाओ र टुटल सञ्चालनमा आएका छन् । करिब २ महिनादेखि निषेधाज्ञाका कारण बन्द रहेका पठाओ र टुटल सेवा सञ्चालनमा आएको हो ।

टुटल र पठाओ सेवा कम्पनीका अनुसार सरकारले निजी सवारीमा जोरबिजोर लागु गरेकाले आफूहरु पनि जोरबिजोर अनुसार नै सेवा सञ्चालनमा ल्याउने बताएका छन् ।

काठमाडौं उपत्यका तीन जिल्लाका सीडीओको बैठकले निजी सवारी साधनमा जोर बिजोर लागु गर्ने निर्णय गरेको छ । जस अन्तर्गत टुटल र पठाओ सेवा पनि पर्दछन् । करिब दुईमहिनादेखि ट्याक्सी, मोटरसाइकलमा टुटल र पठाओ सेवा सञ्चालन हुन पाएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्