अब उपत्यकामा बारअनुसार पसल खुल्ने, कुन बार केको पसल खुल्छ ? (सूचीसहित )
काठमाडौं , असार ६ । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थपिएको छ। उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको आइतबार साँझ बसेको बैठकले असार ८ गतेदेखि एक साताका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो।
अब काठमाडौं उपत्यकामा असार १४ गतेसम्म निषेधाज्ञा हुने भएको छ। अबको निषेधाज्ञा भने खुकुलो बनाइने भएको छ।
निजी सवारीलाई जोर( बिजोरअनुसार चल्न दिइने ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले जानकारी दिए। यस्तै बार अनुसार पसल सञ्चालन गर्न पाइनेछ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार अब बारका आधारमा व्यवसाय सञ्चालन गर्न पाइनेछ ।
उनका अनुसार आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान बिक्री गर्ने पसल सञ्चालन हुनेछन् । त्यस्तै, अटोमोबाइल र त्यसका पार्टपूर्जा पाइने पसल पनि खुल्नेछ ।
सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल खोल्न दिने निर्णय भएको छ । यस्तै फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ खुल्नेछन् ।
बारका आधारमा खुल्ने पसल बिहान ११ देखि ४ बजेसम्म खोल्न दिने निर्णय भएको प्रजिअ पराजुलीले बताए । खाद्यान्न, फलफूल र तरकारी पसल चाहिं हरेक दिन ११ बजेसम्म खुल्नेछ ।
प्रतिक्रिया दिनुहोस्