सात प्रदेशका आन्तरिक मामिलामन्त्रीसँग गृहमन्त्री अधिकारीले गरे छलफल, यी विषयमा भयो कुराकानी

काठमाडौं, असार ६ । सात प्रदेशका आन्तरिक मामिला मन्त्री र गृहमन्त्रीबीच सिंहदरबारमा बैठक बसेको छ।सात प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुसँग गृहमन्त्री खगराज अधिकारीले छलफल गरेको गृह प्रवक्ता जनकराज दाहालले बताए।

मनसुन सुरु भएसँगै सुरु भएको विपद्को‌ विषयमा छलफल केन्द्रित रहेको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले  बताए । उनका अनुसार छलफलमा मुलुकको शान्ति सुरक्षाको स्थिति, कोभिड-१९ संकटको व्यवस्थापन तथा नियन्त्रणको विषयमा पनि कुराकानी हुनेछ ।

विपद् ब्यवस्थापन र निर्वाचन तयारी लगायतका विषयमा छलफल गर्न गृहमन्त्री अधिकारीले उनीहरुलाई काठमाडौं बोलाएका हुन्।छलफलमा प्रहरी समायोजनको काम छिट्टै सक्न पनि गृहमन्त्री अधिकारीलाई सुझाव दिइएको छ । साथै, संघीय प्रहरी ऐन चाँडो ल्याउन पनि भनिएको छ ।

बैठकमा नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्