गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत, पक्षमा ३१ मत पर्दा विपक्षमा २७

काठमाडौं, असार ४ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । आज प्रदेश सभामा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा भएको मतदानमा मुख्यमन्त्री पोखरेललाई सभाका बहुमत सांसदले विश्वासको मत दिएका हुन् ।

सभामा उपस्थित ५८ जना सांसदमध्ये ३१ जनाले पक्षमा तथा २७ जनाले विपक्षमा मत दिएका हुन् । नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेल माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

५९ सदस्यीय प्रदेशसभामा विश्वासको मत पाउन ३० मत आवश्यक पर्छ । प्रदेशसभामा विपक्षी दल एमालेको २७, नेपाली कांग्रेसको १५, माओवादी केन्द्रको सभामुखसहित १२, राष्ट्रिय जनमोर्चाको २ र जनता समाजवादी पार्टीको २ मत छ ।

राष्ट्रिय जनमोर्चाबाट निर्वाचित भएका सांसद कृष्ण थापालाई भने उनको दलले निष्कासन गरेका कारण पदमुक्त भएका छन् ।यता यसअघि मुख्यमन्त्री पोखरेलले राजनीतिक स्थिरता, प्रदेशसभाको स्थायित्व र निरन्तरताका लागि आफ्नो नेतृत्वको सरकारलाई विश्वासको मत दिन प्रदेशसभा सदस्यहरुसँग आग्रह गरेका थिए ।

मुख्यमन्त्री पोखरेलले प्रदेशसभामा पेस गरेको विश्वासको प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रदेशसभा सदस्यहरु पाँच वर्षसम्म प्रदेशसभामै रहेर सेवा गरुन् भनेर जनताले पठाएको र जनताको त्यो भावनाको सम्मानका लागि पनि प्रदेशसभाले स्थायित्व पाउनुपर्ने बताएका थिए ।

आफू नेतृत्वको सरकार प्रदेशसभाको स्थायित्वको पक्षमा गठन भएको भन्दै उनले सरकारलाई विश्वासको मत दिन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्