बाढी पहिरोमा परी पाँच दिनमा १५ जनाको मृत्यु, ३० बेपत्ता

काठमाडौँ, असार ४ । बाढी पहिरोमा परी पाँच दिनमा १५ जनाले ज्यान गुमाएका छन् भने ३० जना बेपत्ता छन् ।

राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालका अनुसार बाढीपहिरोबाट ११ जना घाइते भएका छन् । १३२ घरमा पूर्ण क्षति पुगेको छ ।लगातरको वर्षाले सिन्धुपाल्चोक, मनाङ, कास्की, पर्वत, चितवन लगायतका जिल्लामा धेरै क्षति भएको छ ।

लगातार तीन दिनसम्मको वर्षाले देशका विभिन्न स्थानमा क्षति पुर्‍याएपछि सबैभन्दा बढी क्षति सिन्धुपाल्चोक, मनाङ र पर्वतमा भएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीमा परी ३ जनाले ज्यान गुमाएका छन् । २० जना सम्पर्क बिहीन भएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताए ।

ज्यान गुमाउनेमा दुई चिनियाँ र १ जना भारतीय नागरिक रहेको उनले बताए । बाढीमा परी घाइते भएका २ जनाको उपचारपछि सुरक्षित स्थानमा पठाइएको खनालले बताए ।

बाढीले १० झोलुङ्गे पुल, ६ पक्की पुर र ७ ट्राउड माछा फार्ममा क्षति पुर्‍याएको खनालले बताए । बाढीपहिरोमा फसेका ८४ जनालाई सकुशल उद्धार गरिएको उनले जानकारी दिए ।

क्षतिको विवरण संकलनको काम जारी रहेको भन्दै उनले भने, ‘बाढीले कति घर र कति जनधनको क्षति पुर्याएको छ भन्ने एकिन तथ्यांक नआइसेकाले अहिले नै भन्न सक्ने अवस्था छैन ।’ बिहीबारबाट पानी केही कम हुँदै गएकाले अब सहज हुने अपेक्षा गरेको उनले बताए ।

त्यस्तै पर्वतमा बाढीले भौतिक संरचनाहरुको क्षति पुर्‍याएको छ । बाढीले ६१ घरमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताइन ।उनका अनुसार बाढीपहिरोबाट ६१ घरका २७२ जना प्रभावित भएका छन् । अहिलेसम्म मानवीय क्षति नभएको उनले बताइन ।

अहिले नदीहरुमा पानीको बहाब कम भएकाले केही सहज भएको पनि उनको भनाइ छ ।उता मनाङमा बाढीपहिरोका कारण ५३ घरमा पूर्ण क्षति भएको सहायक प्रमुख जिल्ला अधिकारी सारदा चालिसेले बताइन् । पाँच पुल, पाँच सरकारी भवनमा पूर्ण क्षति पुगेको उनले बताइन ।

राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता अर्यालका अनुसार तत्काल राहत स्वरुप नेपाल सरकारले तोकेको मापदण्डमा रहेर जिल्ला विपद व्यवस्थापन समितिबाट पीडितलाई १५ देखि २० हजार रुपैयाँसम्म नगद उपलब्ध गराइने छ ।

बाढी पहिरोमा परी घरबारबिहीन भएकालाई प्राधिकरणले पुनर्निर्माणका लागि अनुदान रकम उपलव्ध गराउने व्यवस्था पनि रहेको उनले बताए ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्