गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिँदै
काठमाडौं, असार ४ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिन मंगलबार नै संसद सचिवालयमा प्रस्ताव दर्ता गराइसकेका छन् । आगामी एक महिनासम्ममा विश्वासको मत लिनुपर्ने भए पनि पोखरेलले तत्कालै विश्वासको मत लिएर आफू सुरक्षित हुन चाहेका छन् ।
पोखरेल संविधानको १६८ (५) अनुसार शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको गठबन्धनमा पोखरेल मुख्यमन्त्री बनेका हुन् ।
उनलाई मुख्यमन्त्री बनाउन स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) निर्णायक बनेका थिए ।
राष्ट्रिय जनमोर्चाका एक सदस्य रिक्त भएसँगै ५९ सदस्य रहेको गण्डकी प्रदेशसभामा पोखरेलले विश्वास लिन ३० मत आवश्यक पर्दछ । उनको गठबन्धनमा कांग्रेस १५, माओवादी केन्द्र ११ ९सभामुखबाहेक०, राष्ट्रिय जनमोर्चा २, जनता समाजवादी पार्टीका २ र एक स्वतन्त्र सांसद छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग २७ जना प्रदेशसभा सदस्य छन् । जसमध्ये एक जना सांसद माधव नेपाल पक्षका छन् ।
निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको साथ छाडेर मनाङेले गठबन्धनलाई साथ दिएपछि पोखरेल मुख्यमन्त्री बनेका हुन् । उनी मुख्यमन्त्री नियुक्त भएसँगै मनाङेलाईसमेत मन्त्री बनाइसकेका छन् ।















प्रतिक्रिया दिनुहोस्