मनाङमा तीन दिनदेखि बाढी-पहिरोमा फसेका ३५ जनाको हेलिकप्टरबाट उद्धार
काठमाडौं, असार ३ । मनाङमा बाढी पहिरोका कारण तीन दिनदेखि फसेका ३५ जनाको आज ९बिहीबार० उद्धार गरिएको छ । बाढी पीडितको उद्धार गर्न राहतसहित नेपाली सेनाको हेलिकप्टर मनाङ पुगेको हो । मनाङबाट प्रतिनिधिसभामा निर्वाचित पोल्देन छोपाङ गुरुङसहित उद्धार टोली मनाङ पुगेको हो ।
हेलिकप्टरले मनाङको नासों गाउँपालिका–१, सिरानतालमा फसेका २४ जनालाई तालडाँडामा लगेको छ । सानों गाउँपालिका–५, थोंचेका ११ जनालाई उद्धार गरी चामेमा लगिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिएका छन् । यस्तै नासों गाउँपालिका ६, ताम्राङमा रहेका १६ जनाको उद्धारको प्रयास भइरहेको छ ।
मनाङको नार्पाभूमि गाउँपालिकाको फू गाउँको लेकमा ७५ जना फसिरहेका छन् । पोल्देन छोपाङले ल्याएको हेलिकप्टरमार्फत् उनीहरु बस्ने ठाउँ पत्ता लगाइएको र उनीहरुको अवस्था बुझेर हेलिकप्टर फर्केको छ ।
फू गाउँको नामु लेक समुद्री सतहदेखि करीब ५ हजार मिटर उचाइमा हिमालमुनि उनीहरु रहेको र उद्धार गर्नुपर्ने अवस्था रहेको चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेले बताए । यस्तै प्रभु हेलिकप्टरले मनाङबाट आफ्ना कर्मचारीलाई उद्धार गरेको छ । राहत लिएर पूर्व राज्यमन्त्री टेकबहादुर गुरुङ पनि मनाङ पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस्