इन्द्रावती नदी–किनारमा सात शव फेला परे , ६ जनाको सनाखत
काठमाडौं, असार २ । हेलम्बु क्षेत्रमा गएको बाढीपहिरोले बगाएर बेपत्ता सातको शव इन्द्रावती नदीको किनारमा फेला परेका छन् । सात शवमध्ये ६ को सनाखत भएको छ । इलाका प्रहरी कार्यालय मेलम्चीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा पाँच पुरुष र दुई महिला छन् ।
मृत्यु हुनेमा हेलम्बु–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योति, वडा नम्बर ३ का ६५ वर्षीय टीकामाया खड्का, वडा नम्बर ७ का ४५ वर्षीय ज्ञानेन्द्र कक्षपति, वडा नम्बर ६ का ३५ वर्षीय चेङा तामाङ, चौतारा साँगाचोकगढी नगरपालिकानिवासी कर्मचारी २३ वर्षीय समुन्द्र नेपाल छन् । एक महिलाको पहिचान खुलेको छैन ।
मेलम्ची खोलाको मुहान क्षेत्रबाट आएको पहिरो मिश्रित बाढीले हेलम्बु र मेलम्चीमा ठूलो भौतिक क्षति पुर्याएको छ । प्रहरीका अनुसार मेलम्चीमा मात्रै पाँच सय मानिस विस्थापित भएका छन् ।
हेलम्बु क्षेत्रको क्षतिको विवरण अझै प्राप्त भएको छैन । उद्धारमा गएका सभामुख अग्निप्रसाद सापकोटा, स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ, राप्रपा अध्यक्ष पशुपतिशमशेर राणा र बागमती प्रदेशका पूर्वसामाजिक विकासमन्त्री युवराज दुलालसहित हेलम्बु र मेलम्चीका जनप्रतिनिधिले आपत्कालीन बैठक बसेर उद्धारलाई प्रभावकारी बनाउन सुरक्षाकर्मी परिचालनलाई व्यवस्थित बनाउनेबारे छलफल गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्