विपद नियन्त्रणमा सबै मन्त्रालय परिचालन गरिने, सरकारले गर्यो यस्तो निर्णय

काठमाडौं, असार २ । सरकारले सबै मन्त्रालयलाई परिचालित गरेर बाढी–पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनको कामलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।

गृहमन्त्री नेतृत्वको विपद व्यवस्थापन कार्यकारी समितिको आज (बुधबार) बिहान सिंहदरबारमा बसेको बैठकले सबै मन्त्रालयको संयुक्त प्रयासमा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउने निर्णय गरेको हो ।

बैठकले मनसुनको एक सय दिनको अवधिमा गर्ने कार्ययोजनालाई पारित गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिएका छन् ।

कार्ययोजनामा सबै मन्त्रालयले गर्ने कामबारे विस्तृतमा उल्लेख गरिएको उनले बताए । ‘कार्ययोजना सबै मन्त्रालय, एनजीओ, आइएनजीओ, दातृ संस्थालगायतको संयुक्त प्रयासमा तीन महिना लगाएर बनाएको विपत प्रतिकार्ययोजनालाई आजको बैठकले पारित गरेको छ,’ पोखरेलले भने ।

बैठकमा सिन्धुपाल्चोक, मनाङलगायत बाढी–पहिरो प्रभावित क्षेत्रको अवस्थाबारे समीक्षा गरिएको थियो । त्यहाँ खाद्यसामग्री, टेन्टलगायतका अरु आवश्यक व्यवस्था तुरुन्त गर्ने र जोखिममा परेकालाई तत्काल उद्धार गर्ने निर्णय बैठकले गरेको छ ।

सिन्धुपाल्चोकको मेलम्ची बजारमा अवस्थित एक होटलमा फसेका चार जनालाई तत्कालै हेलिकप्टरबाट उद्धार गरिएको भन्दै पोखरेलले त्यो आफूहरुले ‘रियल टाइम बेसिस’ मा काम गर्दै आएको उदाहरण भएको बताए । यसैगरी नुवाकोटको दुप्चेश्वरमा ठूलो ढुंगा भिरमा अड्किएको र त्यसले समुदायमा क्षति पु¥याउन सक्ने भएकाले त्यसलाई व्यवस्थापन गर्ने निर्णय पनि समितिको बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्