आन्दोलनमा उत्रिएका ट्यांकर चालकहरूको आन्दोलन फिर्ता, कोरोना खोप दिने सहमति
काठमाडौँ, असार १ । कोभिड–१९ विरुद्धको खोपको माग गर्दै आन्दोलनमा उत्रिएका इन्धन ढुवानी गर्ने ट्यांकरका चालक र सरकारबीच सहमति भएको छ ।
मंगलबार नेपाल आयल निगम र नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच भएको वार्तामा कोरोनाविरुद्धको खोप दिन सरकार सहमत भएपछि आन्दोलन फिर्ता भएको छ ।
ट्यांकर चालकलाई बुधबार (भोलि) देखि खोप उपलब्ध गराउने सहमति भएको हो । बुधबारबाट एपीएफ अस्पताल बलम्बुमा खोप लगाउने सहमति भएको र आन्दोलनका कार्यक्रम फिर्ता लिएको संघका अध्यक्ष ईश्वर लामाले जानकारी दिए ।
उनका अनुसार वाग्मती प्रादेशिक डिपो कार्यालय थानकोटका ट्यांकर चालक र सहचालकलाई निगमले उपलब्ध गराएको परिचयपत्रको आधारमा खोप लगाउने सहमति भएको छ । सहमतिअनुसार थानकोट डिपो र त्यहाँबाट प्रदेशभरी तेल ढुवानी गर्ने ९०० जना चालक तथा सहचालकले कोरोना खोप पाउनेछन् ।
यस्तै अमलेखगञ्जका झण्डै १ हजार ४०० चालक–सहचालकलाई उतै खोप दिने सहमति भएको लामाले बताए ।कोरोनाविरुद्धको खोप नपाएको भन्दै संघको आह्वानमा वाग्मती प्रदेशभर आइतबारदेखि पेट्रोलियम पदार्थको ढुवानी अवरुद्ध गरिएको थियो ।
आन्दोलिनका कारण ढुवानी ठप्प हुँदा उपत्यकामा पेट्रोलियम पदार्थको अभाव भएको छ ।
मंगलबार पेट्रोलियम पदार्थ ढुवानी नभएको भन्दै अधिकांश पेट्रोल पम्पहरु बन्द गरिएका छन् । पटक–पटक सम्बन्धित निकायमा माग गर्दा खोप उपलब्ध नभएको भन्दै चालक लगाएत मजदुरहरु आन्दोलित भएका थिए । उनीहरुले मंगलबार पनि आयल निगमको थानकोट डिपोमा ट्याङ्कर तेर्साएर नाराबाजी गरेका थिए ।
ढुवानीकर्ताको अवरोधका कारण मंगलबार पनि प्रदेशभरको आपूर्ति प्रभावित भएको आयल निगमको वाग्मती प्रादेशिक डिपो थानकोटले जनाएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्ला ९काठमाडौँ, ललितपुर र भक्तपुर० मा १७६ वटा निजी पेट्रोल पम्प सञ्चालनमा छन् ।
प्रतिक्रिया दिनुहोस्