लगातारको वर्षाका कारण पानीको बहाव बढ्दै, नारायणी नदीले चेतावनीको तह पार गर्‍यो, सतर्क रहन प्रशासनको आग्रह

काठमाडौं, असार १ । देशभर वर्षा भइरहेको छ । लगातारको वर्षाका कारण विभिन्न ठाउँमा बाढि पहिरो गाएको छ भने यता नारायणी नदीमा पानीको सतहले चेतावनीको तह पार भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार नारायणी नदीमा पानीको सतह ७।३ भन्दा माथि नाघेर ७।८ मिटर पुगेको छ । ८ मिटरभन्दा माथि पुगेपछि खतराको तह पुगेको मानिन्छ ।

चितवनमा गएरातिदेखि लगातार वर्षा भइरहेको छ । पहाडी क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले नारायणीमा पानीको सतह अझै बढ्न सक्ने हुँदा सचेत रहन जिल्ला प्रशासन कार्यालय चितवनले आग्रह गरेको छ । नारायणीमा पानीको सतह बढ्दा त्यसले पश्चिम चितवन क्षेत्रमा कटान र डुबान हुने खतरा बढी हुन्छ ।

भरतपुर महानगरपालिकाको वडा नम्बर २६, २७ र २८ मा नारायणी नदीले बढी क्षति गर्ने गरेको छ । नदीमा पानीको बहाव बढ्दै जाँदा सम्भावित जोखिमबाट जोगिन जिल्ला प्रशासन कार्यालय चितवनले यसअघि नै सूचना जारी गरेर सतर्कता अपनाउन आग्रह गरिसकेको छ ।

उता वर्षासँगै आएको पहिरोका कारण बागलुङको काठेखोला गाउँपालिकामा पाँच घर विस्थापित भएका छन् ।काठेखोला गाउँपालिका–७ जिरेदीमा घरमाथी र घरमुनीबाट पहिरो गएपछि ती परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

सदरमुकाम बागलुङ बजार हुँदै रेश जोड्ने सडकको जिरेदी भन्ने स्थानमा सडक भासिँदा घरमाथि पहिरो आएको हो । जिरेदीका चित्रबहादुर कार्कीको घरमाथीबाट पहिरो आएको वडाअध्यक्ष प्रेम जिसीले बताए । सोही ठाउँकै बलबहादुर जिसी र कृष्ण जिसीलगायतका घर पहिरोको उच्च जोखिममा छन् । सबै परिवारका सदस्यलाई अन्यत्रै सार्न थालिएको छ । वर्षा र पहिरो नरोकिएकाले विस्थापित तीन परिवारलाई सुरक्षित स्थानमा सार्ने लागिएको हो ।

पहिरोका कारण बागलुङ सदरमुकाम र स्थानीय तहबीचको सडक सञ्जाल टुटेको छ । कालिगण्डकी करिडोरको मालढङ्गामा पहिरोले अवरुद्ध गरेको छ । बागलुङ–कुश्मीशेरा सडक, बागलुङ–बरेङ सडक, मध्यपहाडी लोकमार्ग र पालिका मुकामबाट वडाकार्यालय तथा गाउँ वस्ती जोड्ने सबै सडकका ठाउँ ठाउँमा पहिरो खसेको छ ।

प्रतिक्रिया दिनुहोस्