आजदेखि उपत्यकामा मेलम्चीको पानी दुई महिना नआउने

काठमाडौं, असार १ । उपत्यकामा आजदेखि मेलम्चीको पानी दुई महिना नआउने भएको छ । काठमाडौं उपत्यकाबासीलाई राहत दिइरहेको मेलम्ची खानेपानी आयोजनाको पानी आजदेखि दुई महिना बन्द हुने भएपछि फेरि काठमाडौंबासीलाई पानीको हाहाकार हुने भएको हो ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलका कार्यकारी निर्देशक मिलन शाक्यका अनुसार पानी आउने सुरुङ परीक्षण गरिने भएकाले पानी वितरण नगरिने भएको हो । उनका अनुसार केयूकेएल अन्तर्गतका दुईलाख ३० हजार उपभोक्ता पानी उपभोग गर्नबाट बञ्चित हुने जनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्न हतार गर्दा यस्तो अवस्था आएको हो ।

अब दुई महिनाजति उपत्यकाबासीले मेलम्चीको पानी उपभोग गर्न पाउने छैनन् । प्रवक्ता पन्तका अनुसार सुरुङ खालि गर्न करिब १५ दिन लाग्छ । ‘त्यसपछि विज्ञहरुको टोलीद्वारा अनुसन्धान थालिनेछ । अनुसन्धानपछि आएका समस्याहरुलाई समाधान गरिनेछ । यता काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलले खानेपानी वितरणको तालिका परिवर्तन गरेको छ । मेलम्ची खानेपानी आयोजनाको सुरुङ मर्मत गर्नुपर्ने भएकाले पानी आउने तालिका परिवर्तन गरिएको केयूकेएलले जनाएको छ ।

मेलम्ची खानेपानी आयोजनाका अनुसार सुरुङ सफा र आयोजना मर्मत सम्भार गर्न करिब दुई महिना लाग्नेछ । केयूकेएलले सोमबार सार्वजनिक गरेको तालिका अनुसार ४ दिनदेखि १२ दिन बिराएर पानी वितरण गरिनेछ । महांकाल, मीनभवन, ठिमी स्टेसनबाट वितरण हुने पानी ७ दिन बिराएर वितरण हुनेछ । भक्तपुरबाट वितरण हुने पानी ४ दिन बिराएर वितरण गरिनेछ ।

बालाजुबाट वितरण हुने पानी ९ दिन बिराएर आउनेछ भने ललितपुरबाट वितरण हुने पानी १२ दिन बिराएर वितरण गरिने छ । कार्यकारी निर्देशक शाक्यका अनुसार केयूकेएलले परिवर्तन गरेकोे पानी आउने तालिका मेलम्ची खानेपानी आयोजना मर्मत सम्भार नसकिएसम्म रहने छ ।

प्रतिक्रिया दिनुहोस्