बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैन: कांग्रेस प्रवक्ता महत

काठमाडौं, ७ मंसिर । सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले चीनको बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) परियोजना अन्तर्गत ऋण सहायता लिन नहुने आफ्नो पार्टीको अडान रहेको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा सो परियोजना अन्तर्गत नेपालले अनुदान सहायता लिँदा राम्रो हुने पार्टीको धारणा रहेको उनले प्रष्टयाएका हुन्।

शुक्रवार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रवक्ता महतले सो परियोजनामा लगानी, कनेक्टिभिटी र प्राविधिक सहयोगका कुराहरू भएकाले त्यसलाई अनुदानको रुपमा अघि बढाउन उपयुक्त हुने बताए।

उनले भने, ‘बीरआईबारे कांग्रेसको केही पनि दोधार नीति छैन। अहिले ऋण लिन सकिँदैन भनेको मात्रै हो हामीले। हामीले बीआरआई हुँदैन पनि भनेका छैनौँ। त्यो समझदारी पत्रमा मैले नै हस्ताक्षर गरेको हो। त्यो हस्ताक्षरमा खाली लगानी, कनेक्टिभिटी, प्राविधिक सहयोगका कुराहरू छन्। अब कस्तो सहयोग गर्ने भन्ने कुरा आउँदाखेरी हामी के चाहन्छौँ भने कनेक्टिभिटीका कुरा सुरुङमार्ग, सडकमा अनुदान सहयोग दिनुपर्‍यो। अनुदान दिने कुरा नै चिनियाँ सरकारको कयौँ वर्षदेखि कार्यान्वयन भएको छैन। त्यसलाई कार्यान्वयन गर्नुपर्‍यो। अनुदान नै कार्यान्वयन भएको छैन, अहिले ऋणको कुरा गरेर के अर्थ ? उनको पश्न छ ।

उनले मुलुक धेरै ऋणको भारमा रहेकाले कुनैपनि देशसँग थप ऋण लिन नहुने तर्क समेत गरे। प्रवक्ता महतले चीनले अनुदान सहायता दिने कुरा विगतमा गरेकाले उसले त्यो कुरा कार्यान्वयन गर्नुपर्ने दोहोर्‍याए।

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा सो परियोजनाको कार्यान्वयन योजनामा पनि हस्ताक्षर गर्नुपर्ने चीन सरकारको प्रस्ताव छ। प्रधानमन्त्री ओलीले त्यसलाई के गर्छन् त्या भने हेर्न बाकी छ ।

प्रतिक्रिया दिनुहोस्